काठमाडौ, आश्विन २७ - राजधानी लगायत मुलुकका विभिन्न भागमा स्वाइन फ्लु फैलिएको छ । सरकारले यसै साता स्वाइन फैलिएको स्वीकार गर्यो । तर चिकित्सकहरूका अनुसार यो गत डेढ महिनायता मुलुकका विभिन्न भागमा देखिँदै आएको छ । विशेषज्ञहरूले यसबाट नआत्तिई सुरक्षाका उपायहरू अपनाउनु आवश्यक रहेको औंल्याएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको शंकास्पद रुघाखोकीका बिरामीमध्ये काठमाडौं, ललितपुर, चितवन, सिन्धुली र खोटाङको नमुनाहरूमा स्वाइन फ्लु देखिएको हो । यो गत आइतबारसम्म गरिएको परीक्षणको नतिजा हो । यसपछिका नमुनाहरू भने परीक्षण क्रममै छन् ।
स्वाइन फ्लु अर्थात् इन्फ्लुएन्जा (ए-एच १ एम १) फ्लु भाइरसले हुने संक्रमण हो । यो संक्रमण सामान्य रूपमा सुँगुरमा पाइने स्वाइन फ्लुको उत्परिवर्तित रूप
हो । यो संक्रमणमा सामान्य रूपले रुघा, खोकी, ज्वरोजस्तो लक्षण देखिन्छ । कहिलेकाहीँ ज्यान लिने खालको समेत हुन सक्छ । यो संक्रमण सन् २००९
अपि्रलमा पहिलोपटक मेक्सिकोमा देखिएपछि विश्वभरि फैलिएको हो ।
'स्वाइनबाट चनाखो हुनैपर्छ, यसका लागि बचाउका उपाय अपनाउनु बुद्घमिानी हो,' वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी भन्छन्, 'यो संक्रमण दुई सातासम्म रहन सक्छ, आफैं निको समेत हुन्छ, तर कहिलेकाहीँ भाइरल संक्रमण कडा भएर प्रभावित व्यक्तिलाई भेन्टिलेटरसम्मको आवश्यकता पर्न
सक्छ ।'
मौसमी इन्फ्लुएन्जा/ रुघाखोकीको तुलनामा एच १ एन १ बाट उत्पन्न फ्लु बढी संक्रामक मानिन्छ । चोखानीका अनुसार फ्लुको मौसममा घर बाहिरबाट आउँदा हात नधोएसम्म मुख, नाक वा आँखालाई छुनु हुन्न । किनभने हाम्रो शरीरमा विषाणु यिनै अंग हुँदै प्रवेश गर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार हाल मुलुकमा देखिएको स्वाइन फ्लुको स्टे्रन -जिनमा परिवर्तन भए/नभएको) मा विगतभन्दा परिवर्तन नभएको भए खासै आत्तिनुपर्ने अवस्था रहँदैन । तर स्वाइन फ्लुको स्टे्रनमा केही गरी परिवर्तन देखियो भने यो खतरनाक संकेत हो । अर्थात् स्ट्रेनमा गत वर्षहरूमा देखिएको जिनको लहर -सिक्वेन्स) मा परिवर्तन भयो भने हाम्रो रोग प्रतिरोधक प्रणालीले त्यसलाई पहिचान गर्न सक्दैन । अनि शरीरमा भएको प्रतिरोधक क्षमताले त्योसँग नलडी त्यसलाई सहज रूपमा शरीरमा प्रवेश गर्न दिन्छ । पुनका अनुसार हालको प्रयोगशाला परीक्षणको प्रतिवेदनलाइ विश्लेषण गर्दा स्वाइन फ्लु नेपालभरि फैलिएको अवस्था छ ।
डा. चोखानी भन्छन्, 'बुढापाका, पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, दम र मधुमेहजस्ता गम्भीर रोग भएकाहरू र शरीरमा रोग प्रतिरोधक क्षमताको कमी भएकाहरूलाई स्वाइन फ्लु संक्रमणको खतरा हुन्छ ।'
कसरी फैलिन्छ ?
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार सामान्य रुघाखोकीको विषाणुजस्तै स्वाइन फ्लुको विषाणु फैलिन्छ । मौसमी इन्फ्लुएन्जा खोकी, हाच्छिउँ वा रोगीले छुँदा, आमनेसामने कुरा गर्दा फैलिएजस्तै एच १ एन १ समेत फैलिने गर्छ । कुनै रोगी खोक्दा वा हाच्छिउँ गर्दा हाम्रा आँखाले देख्न नसकिने धेरै स-साना जलकण -ड्रप्लेट) वातावरणमा फैलिन्छन् । रोग प्रभावित व्यक्तिले कुराकानी गर्दासमेत मुखबाट निस्किने स-साना कणमा विषाणु हुन सक्छ । मुखबाट निस्किने यस्ता जलकणमा फ्लुको विषाणु हुन्छ र हावामा फैलिएर अर्को व्यक्तिमा सर्न सक्छ ।
फ्लुको भाइरस २४ घन्टासम्म हात वा प्रायः जुनसुकै सतहमा जीवित रहन सक्छ । घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्ने औंल्याउँदै डा. चोखानी भन्छन्, 'सार्वजनिक ढोकाको ह्यान्डिल, टीभीको रिमोट कन्ट्रोल, हात राखेर हिँड्ने रेलिङ, बसको गेटमा भएको ह्यान्डिल, कम्प्युटरको किबोर्ड आदिमा विषाणु घन्टौं जीवित रहन सक्छ । यसैले यस्ता वस्तु छोएर साबुनपानीले हात नधोई मुख छोए विषाणु शरीरमा पुग्न सक्छ र तपाईं संक्रमित हुन सक्नु हुन्छ ।' संक्रमित व्यक्तिले दुई सातासम्म स्वस्थ व्यक्तिमा यो फ्लु संक्रमण सार्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार स्वाइन फ्लु एकबाट अर्कोमा फैलिने मुख्य माध्यम खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा मुखबाट निस्किने जलकण हुन् । यसबाट जोगिन रुघाखोकीजस्तो लक्षण देखिएका व्यक्तिबाट टाढा बस्ने गर्नुपर्छ । सम्भव भएसम्म खोक्ने, हाच्छिउँ गर्ने व्यक्तिबाट करिब एक मिटर टाढा रहनुपर्छ ।
लक्षण
इन्फ्लुएन्जा ए भाइरसको संक्रमण हुने व्यक्तिमा ज्वरो, घाँटी बिग्रने, जीउ दुख्ने, टाउको दुख्ने, काम्ने, उच्च ज्वरो र असाधारण थकानको लक्षण देखिएको छ । डा. चोखानीका अनुसार कसैकसैमा सास लिन कठिनाइ, बान्ता, झाडापखाला र मांसपेशीमा पीडा (माएल्जिया) को लक्षणसमेत पाइएको छ । केहीमा यो लक्षण मामुली हुन सक्छ भने केहीमा उग्र रूपको हुन सक्छ ।
बालबालिकाहरूको छाला र ओठ नीलो हुनु, छिटोछिटो सास फेर्नु, निर्जलीकरण, धेरै बढी निद्रा लाग्नु, धेरै चिढिनुजस्ता लक्षण देखिन सक्छन् । वयस्कमा सास विस्तारै चल्ने, छाती वा पेट दुख्ने, अचानक चक्कर आउने वा भ्रमित हुनेलगायतका लक्षण प्रकट भए तुरुन्त अस्पतालको इमर्जेन्सीमा भन्र्ाा गर्नुपर्छ । बालक र वयस्क दुवैमा बान्ता बन्द नहुँदा र फ्लु जस्तो लक्षण देखिँदा चिकित्सकको सल्लाह लिनुपर्छ ।
उपचार
स्वाइन फ्लुको शंका लागे बिरामीलाई छुट्टै कोठामा राख्नु राम्रो हुने उल्लेख गर्दै डा. चोखानी भन्छन्, 'सकेसम्म बिरामीले उपयोग गरेर फ्याँक्ने खालको रुमाल उपयोग गर्नुपर्छ ।' यसमा लाक्षणिक उपचार गरिन्छ । बिरामीको स्याहारपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । स्वाइन फ्लु संक्रमणले पीडितहरूमा उपचारका लागि ओसेल्टामिविर अर्थात् टामी फ्लु र जनामिविर अर्थात् रेलेसा नामक विषाणुरोधी औषधि सिफारिस गरिएको चोखानी बताउँछन् । यसको संक्रमण देखिएकाहरूमध्ये धेरै कम व्यक्तिलाई औषधि आवश्यकता
पर्छ । चिकित्सकले प्रस्तावित गरे मात्र यो औषधि उपयोग गर्नुपर्छ । बिरामीहरूलाई भने हावा राम्ररी खेल्ने कोठामा राख्नुपर्छ । पोसिलो झोल प्रशस्त मात्रामा खुवाउनुपर्छ । बिरामीमा कुनै जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा पुर्याउनुपर्छ ।
प्रकाशित मिति: २०६९ आश्विन २७ ०९:२६
Source: Kantipur.com