Thursday, February 14, 2013

३ लाख ५० हजारमा मृगौला प्रत्यारोपण


भक्तपुर, फाल्गुन ३ - मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई खुसीको खबर । अब प्रत्यारोपण सस्तोमा हुने भएको त छ नै, कुर्नुपर्ने समस्याबाट पनि छुटकारा मिल्ने भएको छ ।
सरकारले सञ्चालन गरेको भक्तपुरको दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा तीन लाख ५० हजार रुपैयाँमै मृगौला प्रत्यारोपण हुने भएको हो । वीर अस्पतालले पाँच लाख लिने गरेको छ । माग गरेको रकम तिर्दा पनि महिनौं कुर्नुपर्ने बाध्यता वीरमा छ । केन्द्रले सेवा सुरु गरेसँगै कुर्नुपर्ने झन्झटबाट पनि बिरामी मुक्त भएका छन् । सम्पर्कमा पुगेका बिरामीको बढीमा दुई साताभित्र प्रत्यारोपण हुनेछ ।
विकास समितिका अध्यक्षसमेत रहेका स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले बुधबार केन्द्रको अन्तरंग सेवाको उद्घाटन गरे । कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठले कम शुल्कमा सर्वसाधारणलाई सेवा प्रदान गर्न लागेको बताए । 'धेरै कुर्नु पर्दैन, बढीमा दुई साताभित्र प्रत्यारोपण हुन्छ,' उनले भने, 'तीन लाख ५० हजार रुपैयाँमा प्रत्यारोपण गछौर्ं । यसमा अन्य कुनै सेवा शुल्क तिर्नु पर्दैन ।' केन्द्रले अन्य अस्पतालमा लिने एक लाख रुपैयाँ सेवा शुल्क र प्रत्यारोपण गर्नुअघिको परीक्षणबापत लाग्ने ५० हजार रुपैयाँ छुट दिन लागेको हो । त्यस्तै डाइलासिस गर्न निजी अस्पतालमा २ हजार ५ सयभन्दा बढी लिइन्छ तर केन्द्रमा सामानबाहेक २ सय ५० रुपैयाँमा सेवा दिने बताएको छ । सामानको आठ सयदेखि हजार रुपैयाँ पर्छ । केन्द्रमा फार्मेसी सुविधा पनि छ । केन्द्रले सेवा सुरु गरेको अवसरमा पाँच जना बिरामीको मृगौला प्रत्यारोपण निःशुल्क गर्ने निर्णय गरेको छ । त्यसमध्ये दुई जनाले गरिसकेका छन् । महिनामा ४८ जनाको प्रत्यारोपण गर्न सक्ने क्षमता भए पनि अहिले सातामा तीन जनासम्मको गर्ने योजना छ । दैनिक २ सय ५० जनाको डाइलासिस गर्ने क्षमता भए पनि अहिलेलाई दिनहुँ १ सय ८० जनासम्मको गरिनेछ । केन्द्रमा सात विशेषज्ञसहित १५ चिकित्सक छन् ।
सय शय्या क्षमताको केन्द्रमा २० वटा हेमोडाइलासिस मेसिन, २ वटा मेजर अपरेसन थिएटर, ६ आईसीयू र पोस्टअरेटिभ शय्या चालू अवस्थामा छ । त्यस्तै नेप|mोलोजी, युरोलोजी, मृगौला प्रत्यारोपण र कार्डियोलोजीको ओपिडी सेवा पनि दिइन्छ ।
०४५ मा वीरमा डाइलासिस सुरु भएको थियो भने ०६४ मा आएर वीर र शिक्षण अस्पतालमा प्रत्यारोपण थालिएको हो । वीर र शिक्षण अस्पतालमा ६ देखि ८ लाख तिर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: २०६९ फाल्गुन ३ ०८:३७ 
Source: ekantipur.com
Makar Shrestha
    (3 Votes)